BHUKAMPA NEPAL 2015

The world together for Nepal

भूकम्पले निम्त्याएका बहसहरू

विसं २०६८ असोजमा गएको ६ दशमलव ८ रेक्टरको भूकम्पपछि फ्रान्सेली भूकम्पविद् फेदेरिक पेरियले 'नेपालले यो भूकम्प टारे पनि त्योभन्दा ३० गुणा ठूलो भूकम्पको पर्खाइमा छ' भनेका थिए। उनको 'नेपालमा सम्भाव्य भूकम्पीय खतरा' शीर्षकको लेखमा नेपालको भूकम्पीय खतराबारे थुप्रै कुरा उजागर गरेका थिए।

ढिलो–चाँडो नेपालले यस्तो भूकम्पको सामना गर्नुपर्ने निचोड निकालेका थिए। अन्ततः त्यस्ता अनुमानलाई साँचो सावित गर्दै नेपालमा वैशाख १२ मा ७ दशमलव ९ रेक्टरको भूकम्प गयो। देश अहिले त्यसैको दुःखले आक्रान्त छ।

हामी अहिले प्राकृतिक महाविपद्सँग जुधिरहेका छौँ। मर्नेको संख्या सात हजार नाघिसकेको छ। यो अझै बढ्ने अनुमान छ। दसौँ हजार घाइते छन्। भग्नावशेषमा पुरिएकालाई अब जीवितै उद्धार गर्नसकिने आशा मर्दै छ। शव उत्खनन गर्न उत्तिकै कठिन छ। भूकम्पले ध्वस्त पारेका दुर्गम गाउँ अझै सम्पर्कबाहिरै छन्। कति गाउँ सोत्तर छन्। घाइतेले उपचार पाएका छैनन्। राजधानीभित्रै पीडित एक प्याकेट चाउचाउ र एक बोतल पानी माग्दै सरकारका मन्त्री लखेट्दै छन्। भूकम्प गएको डेढ साता बितिसक्दा पनि क्षतिबारे यकिन तथ्यांक आउनसकेको छैन। भूकम्पका कारण लाखौं घरबारविहीन भएका छन्। यो बिर्सनै नसकिने महाविपद् हो। हामी अहिले पनि हरेक क्षण मर्नेको संख्या गन्दै बस्न बाध्य छौँ, योभन्दा क्रूर समय अर्को कुन हुनसक्ला?

भूकम्प भन्नेबित्तिकै हामी १९९० सालको भूकम्प सम्झन्छौँ। त्यसबेला ८ दशमलव ५ रेक्टर स्केल मापन गरिएको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो। त्यसपछि २०४५ मा ६ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो। त्यसपछि ०६८ मा गएको ६.८ रेक्टरको भूकम्पलाई १९९० सालयताकै सबैभन्दा ठूलो भूकम्पको रूपमा पछिल्लो तथ्यांक थियो।

यी दुई भूकम्पबाहेक देशमा त्यति विनाशकारी भूकम्प गएन। ०६८ को ६.८ रेक्टर स्केलको भूकम्पलाई त्यसबेला नेपालका भूकम्पविद्ले 'राम्रै भयो' भन्ने अर्थमा लिए। धेरै भूकम्पविद्ले त्यो भूकम्प कम क्षति र विनाशमै सीमित भएकाले खुसी व्यक्त गरेका थिए। त्यसबेला तत्कालै ठूलो भूकम्पको खतरा नभए पनि भविष्यमा 'त्यो महाभूकम्प नै भएर आउने' दाबी भूकम्पविद्हरूले गरेका थिए। विज्ञका अनुसार सामान्यतः मध्यमखालको भूकम्पपछि ४०–५० वर्षसम्म त्यति ठूलो भूकम्प आउँदैन। मझौलाखालका भूकम्प ४०–५० र महाभूकम्प अर्थात् ठूला भूकम्प ३–४ सय वर्षको अन्तरमा दोहोरिने धारणाप्रति प्रायः भूकम्पविद् एकमत देखिन्छन्। नेपालको भूकम्पीय इतिहासलाई हेर्दा पनि यो विचार मिल्छ। १९९० सालको भूकम्पमा परी ८ हजार ५ सय १९ ले ज्यान गुमाएको तथ्यांक छ। त्यसबेला काठमाडौँ उपत्यकामा मात्रै ४ हजार २ सय ८६ जनाले ज्यान गुमाएका थिए।

नेपाल संसारमा उच्च भूकम्पीय जोखिम भएको देशको सूचीमा पर्छ। त्यसमा पनि काठमाडौँ उपत्यकामा झनै जोखिम रहेको मानिन्छ। खासगरी उपत्यकाभित्रका कमजोर भौतिक निर्माण र संरचनाले सम्भाव्य भूकम्पीय जोखिमलाई सघाइरहेको छ। तीन वर्षअघि भूकम्पीय जोखिम व्यवस्थापन आयोजनाद्वारा सार्वजनिक गरिएको प्रतिवेदनले काठमाडौँ उपत्यका अत्यन्तै जोखिममा रहेको औँल्याएको थियो। फेदेरिकले तीन वर्षअघि नेपालमा चाँडै महाभूकम्प आउने दाबी गर्दै लेखेका थिए, '८ रेक्टर स्केलसम्मको भूकम्प आउने हो भने त्यसबाट नेपालले इतिहासकै ठूलो क्षति व्यहोर्नेछ। लाखौँको संख्यामा मानवीय क्षति हुनेछ। तीन लाख मानिस हताहत हुनेछन्। काठमाडौँ उपत्यकामा मात्रै आकस्मिक उद्धारका लागि टुँडिखेलजत्रा ५० वटा खाली स्थान तत्कालै आवश्यक हुन्छ।' यसपल्टको भूकम्पले त्यही अनुमानअनुसार क्षति नगरे पनि हामीलाई त्यो दाबीको नजिक पुर्यायएको छ।

भूकम्पीय जोखिम व्यवस्थापन आयोजनाद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनमा ८ रेक्टरभन्दा माथिको भूकम्प आए उपत्यकामा मात्रै लाखभन्दा बढीको ज्यान जाने संकेत गरिएको छ। चार लाखभन्दा बढी मानिस घाइते हुनसक्ने अनुमान छ। अवैज्ञानिक, भूकम्प प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएका भौतिक संरचना उपत्यकामा ज्यादा भएकाले क्षतिको लगभग ८० प्रतिशत ठूला घर र भौतिक संरचना लडेर, भत्किएर अथवा घरले किचेर मानिसको ज्यान जानसक्ने, भूकम्पछि सम्भाव्य बाढीपहिरो र आगलागीका कारण समयमै उपचार नपाएर मर्नसक्ने र बाँकी एक ठाउँबाट अर्काे सुरक्षित स्थानमा सर्न नपाएर मर्नसक्ने आँकलन छ।

दस वर्षअघिदेखि अमेरिकी भूकम्पविद् रोजर बिलाँले 'सतर्क रहनु है, नेपालमा अब जतिबेला पनि भूकम्प आउनसक्छ' भनेका थिए। उनले 'नेपालको राजधानी ८ रेक्टरभन्दा माथिको सम्भाव्य महाभूकम्पसामु रहेको' निचोड निकाल्दै काठमाडौँले इतिहासको भन्दा ३० गुणा ठूलो भूकम्पको सामना गर्नुपर्ने चेतावनी दिएका थिए। अहिले गएको भूकम्प ७ दशमलव ९ रेक्टर स्केलको हो। यो भूकम्पले कुन हदसम्मको तमासा गर्यो , त्यो हामी भोगिरहेका छौं। अब अनुमान गरौँ, भूकम्पविद्ले भनेझैँ नेपालमा ८ रेक्टरभन्दा माथिको भूकम्प आयो भने के होला?

यो भूकम्पबाटै हामी अनुमान लगाउन सक्छौँ, नेपालमा ८ रेक्टरभन्दा माथिको भूकम्प आयो भने काठमाडौँको अस्तित्व रहला? ग्रामीण भेगको अवस्था के होला? भूकम्पविद्का मतलाई स्वीकार्ने हो भने यीभन्दा ठूला भूकम्प आइहाले काठमाडौँको ठमेलदेखि टेकुसम्मका सबै भौतिक संरचना ध्वस्त हुनेछन्। ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जान कठिनाइ पर्नेछ। आकस्मिक उद्धारका लागि काठमाडौँवरिपरि कुनै फराकिलो जमिन छैन, धेरै मानिस ठूला घर र भवनले किचेर मर्नेछन्। सुरक्षित स्थानतर्फ भाग्न नपाएर अझै धेरै मर्नेछन्। अस्पतालमा उपचार नपाएर धेरै मानिस मर्नेछन्। औषधिको अभावमा धेरैले ज्यान गुमाउनेछन्। भूकम्पपछि सम्भाव्य आगलागीका कारण हजारौँ जलेर मर्नेछन्। उद्धार गर्नसक्ने अवस्था हुनेछैन। धेरै सहरमा च्यापिएर, थिचिएर, पेलिएर मर्नेछन्। विश्व सम्पर्कविहीन हुनेछ।

अझ गाउँको कल्पना गर्ने हो भने त अवस्था झन् भयाभह हुने देखिन्छ। विज्ञका अनुसार भूकम्पपछि गाउँमा उद्धारकर्मी पुग्दैनन्। भएका पनि सहर बजारमै केन्द्रित हुनेछन्। सडक तथा ठूला राजमार्ग छिन्नभिन्न हुनेछन्। यातायात पूर्णरूपमा ठप्प हुनेछ। फोनका तार छिनेर मानिस सम्पर्कविहीन हुनेछन्। पानीका पाइप सबै फुट्नेछन्। सहरी भेगका ठूल्ठूला अस्पतालका भवन लडेर ध्वस्त हुनेछन्। घाइते भएकालाई पनि समयमै अस्पताल पुर्यासउन सकिँदैन। अस्पतालमा बिरामी राख्न ठाउँ हुनेछैन। औषधिको चरम अभाव हुनेछ। खोला, नदीले दिशा परिवर्तन गर्नसक्छन्। भूकम्पछि सम्भाव्य बाढीपहिरो र आगलागीका कारण थप मानिस मर्नेछन्। यो निकै डरलाग्दो अनुमान हो।

खासगरी नेपालमा आउनसक्ने ठूलो भूकम्पबारे अध्ययन गरी नेपाल र नेपालीका लागि विदेशी भूकम्पविद्ले पहिल्यैदेखि चेतावनीयुक्त सन्देश दिइरहेका थिए। हामीले सम्भाव्य क्षतिलाई कम गर्न सजगता अपनाउने कुरामा सर्वदा हेलचेक्र्याइँ गर्दै आयौँ। सरकारी प्रयास त शून्य नै रह्यो। यी सबको परिणाम आज हामी भोगिरहेका छौँ।

अहिले हामी महाविपद्मा छौँ। यो विपद्मा अन्य कुरा गर्नुभन्दा पनि विपद्बाट निस्कनु पहिलो आवश्यकता हो। भग्नावशेषमा पुरिएकाको शीघ्र उद्धार, घाइतेको उपचार र पीडितलाई राहत उपलब्ध गराउनु अहिलेका मुख्य कार्यसूची हुन्। यसका लागि राज्यले आफ्नो सम्पूर्ण स्रोतसाधन तथा जनशक्ति परिचालन गर्नुपर्छ। यसका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण विवेक र क्षमता लगाउनुपर्छ। नागरिकले आआफ्नो तर्फबाट सकेको योगदान गर्नुपर्छ। विदेशी सहयोगलाई उचित तरिकाले परिचालन गर्नेतिर ध्यान दिनु पनि उत्तिकै जरुरी छ।

 

नागरिक दैनिकको वेबसाइटबाट साभार
http://nagariknews.com/opinion/story/37523.html

Atom

Powered by Nibbleblog